टुकोनद्वारा सरकारको ध्यानाकर्षण

Spread the love

काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले फैलँदो कोरोना महामारी तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
टुकोनद्वारा आज प्रकाशित विज्ञप्तीमा भनिएको छ– ‘विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरले आम जनजीवन आक्रान्त बनेको छ । यस्तो अवस्थामा आम जनतालाई बाँच्ने र बचाउँनेतर्फ कुनै ठोस कार्यक्रम नल्याई निशेधाज्ञा मात्र थोपर्दा कोरोना संक्रमण फैलन कम हुन्छ भन्ने सरकार र जिम्मेवार निकायको अदुरदर्शी निर्णयका कारण दिनभर श्रम गरेर परिवार पाल्न वाध्य ८० प्रतिशत श्रमिकहरुको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । रोगसँग सामना गर्दैरहेका श्रमिकहरुलाई भोकले पनि उत्तिकै सताइरहेको वर्तमान अवस्थामा कोठामा थुनेर मात्र समस्या समाधान हुन्छ भन्ने सोच्नु गलत मात्र होइन गम्भिर भूल हो । तसर्थ आम श्रमिकहरुको जीवन रक्षाको लागि सरकार तथा सरोकारवाला निकायहरुसँग ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले ५ बुँदे माग प्रस्तुत गरेको छ ।
१. श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था सहित निशुल्क परिक्षण, औषधोपचार तथा कोरोना विरुद्धको भ्याक्सीन उपलव्ध गराइयोस् ।
२. देशभरका अस्पतालहरुमा विरामीहरुलाई सहज रुपमा भर्नाको साथै अक्सिजन, आइसियु तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था मिलाइयोस् ।
३. महामारीको कारण देखाउँदै सेवा सुविधा कटौती गरिएका तथा रोजगार खोसिएका श्रमिकहरुको रोजगारीको ग्यारेन्टी गर्नुका साथै पूर्ववत् सेवा सुविधा प्रदान गरियोस् ।
४. सरकारको आगामी नीति तथा कार्यक्रम एवं बजेटमा श्रमजीवि वर्गको उत्थानलाई लक्षित गरी सहज रोजगारका अवसर सिर्जना गरियोस् ।
५. नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका नागरिकता सम्बन्धि प्रावधानलाई संघीय कानुन बमोजिम कार्यान्वयन गर्नुपर्ने संविधानले नै वाध्यकारी व्यवस्था गरेको अवस्थामा कानुन बनाउन आफैं अवरोध खडा गरेको सरकारले हाल विश्वव्यापी महामारीसँग जुधिरहेका बेला मुलुकमा सृजित तमाम समस्याहरुलाई थाँती राखेर नागरिकता जस्तो संवेदनशिल विषय राष्ट्रिय सहमती बिना, संसदमा विचाराधिन अवस्थामा रहेको नागरिक विधेयक अध्यादेश मार्फत आउनु बदनियतपुर्ण कार्य हो । विधी र प्रकृया मिचेर सौदाबाजीको निम्ती राष्ट्रिय हित विपरीत जारी भएको अध्यादेश तत्काल फिर्ता लिईयोस् ।’