ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले लिने कार्यगत सैद्धान्तिक आधारहरु

Spread the love

ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले श्रमिक र श्रमिक संघहरुलाई संगठित गर्ने, श्रमिकहरुको
पेशागत हक हितको संरक्षण र संवर्धन गर्ने, प्रजातान्त्रिक मान्यता अनुरुप श्रमिकको आर्थिक
जीवनस्तर उकास्न क्रियाशील रहने, श्रमिक र व्यवस्थापनबीच पारस्परिक सम्वन्ध विकासमा
सहयोग पुर्याउने, श्रमिक वर्गको प्रतिनिधित्व गर्ने, श्रमिक र उनीहरुका परिवारको हित र
कल्याणका निमित्त आवश्यक र उपयुक्त कार्यक्रमहरु सञ्चालन गर्ने, विश्व शान्ति, मानवअधिकार
र पर्यावरण संरक्षणका लागि प्रयत्नशील रहने जस्ता श्रमिकहरुसंग प्रत्यक्षरुपमा संलग्न विषयहरु
र उनीहरुको संरक्षण र प्रवर्धन गर्ने बृहत्तर उद्धेश्यहरु लिईएका छन् ।
ती उद्धेश्यहरु प्राप्तिको लागि के नीति अवलम्वन गर्ने विभिन्न सैद्धान्तिक तथा ब्यवहारिक
तरिका र आधारहरु हुने भएकोले टुकुनको विधान सापेक्ष स्पष्टरुपमा ट्रेड युनियन महासंघले
मुलतः निम्न सैद्धान्तिक आधारहरुमा टेकेर आफ्नो नीति तथा कार्यक्रम तयार गरी श्रमिकहरुको
आधारभूत अधिकारहरु रक्षा गर्ने आफ्नो अभिष्ट पूरा गर्नेछ ।
१. प्राप्त उपलब्धीहरुको संरक्षण र सम्वद्र्धन गर्दै थप उपलव्धिहरुको लागि प्रयत्नशील रहने छ,
२. राष्ट्रिय आयलाई श्रमिकहरुको योगदानसंग जोडिने छ र अतिरिक्त लाभको हितार्थी श्रमिकहरु
हुन् भन्ने मान्यतालाई सिद्धान्ततः ग्रहण गर्दै तुलनात्मक र समानुपातिक पक्षपोषणको लागि
प्रयत्नशील रहनेछ,
३. श्रमिकहरु उत्पादनका साधन मात्र हुन् भन्ने यथास्थिको परिभाषिक मान्यतामा परिवर्तन
ल्याई श्रमिकहरु प्रतिष्ठानका सहकारी, अभिनवकर्ता, सहजकर्ता तथा सहयात्रीहुन् भन्ने
भावनात्मक विकास गराउन प्रयत्नशील रहनेछ,
४. औद्योगिक उन्नयनमा समयले ल्याउने परिवर्तन, तकनिकी तथा बैज्ञानिक आविष्कारले पार्ने
भौतिक, सामाजिक तथा सास्कृतिक परिवर्तन आदि र त्यसले मानवीय चेतनामा पार्ने प्रभावको
कारणले श्रमका प्रकृति र प्रकारहरुमा पनि तात्विक अन्तर पार्दै जाने यथार्थलाई स्विकार गर्दै
श्रम र श्रमिकहरुको परिभाषालाई पनि तदनन्तर समायोजन गर्दै समयानुकुल सभ्य समाजको
निर्माण गर्नेतर्फ अग्रसर हुनेछ,

५. यथार्थवादमा आधारित मानवोचित सम्वन्धहरुको विकास, सघन सम्वन्ध, जीवनबृत्ति, सीप र
दक्षताको अभिबृद्धि, चारित्रिक तथा सम्यक चेतनाको अभिबृद्धिको लागि सतत् प्रयत्नशील
रहनेछ ।
६. आफ्नो अभिष्ट सिद्धिको लागि सैद्धान्तिक समानता, समता, निकटता, स्वधर्मिता भएका
मित्रशक्तिहरुसंग हातेमालो गर्दै एकवद्धताको कार्यनीति लिने छ ।