ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकियो,अब जनआन्दोलन :- महामन्त्री बर्तौला

Spread the love

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले सिमित दलका सिमित नेताको ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकिएको बताएका छन । मनपरीतन्त्रले सिमा नाघेको चर्चा गर्दै बर्तौलाले मुलुकमा अहिले बिद्यमान भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि जनआन्दोलनको बिकल्प नभएको समेत उनले बताए। संगठन विभाग प्रमुख समेत रहेका वर्तौलाले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामि असोज ५ गते सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनको तयारी बैठकमा बोल्दै मुठ्ठी भरका नेताहरुको रजाई गर्ने ब्यबस्थाले मुलुकको आर्थिक,सामाजिक,राजनीतिक परिबर्तन र हित नहुने हुँदा जनआन्दोलनको माध्यमबाट मुलुकलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । अहिलेको राजनीतिक शक्तिले मुलुकको स्वाधिनताको रक्षा , प्रजातन्त्रको संरक्षण , बिधिको शासन र आर्थिक समृद्धिको लागि केही योगदान दिन नसक्ने भएकोले धर्म,सस्कृती र पहिचान रक्षाको लागि पनि आन्दोलनको बिकल्प नभएको उनको भनाई थियो ।

राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी असोज ५ मा काठमाडौमा आयोजना हुने भएको छ । सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाको दरले ६० जिल्ला बाट श्रमिक प्रतिनिधीहरुको सहभागीता रहने महासंघले जनाएको छ । राष्ट्रिय सम्मेलन सफल पार्न टुकोनले आर्थिक, व्यबस्थापन एवं विधान संशोधन समिती समेत गठन गरेको छ । महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएको हो । आज नै तीन वना श्रमिक अगुवाहरुलाई टुकोनको केन्द्रीय सदस्यमा मनोनित गरिएको टुकोनले जनाएको छ । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिब प्रसाद पकुवाल (दोलखा) शिबहरी पकुवाल (दोलखा) र सन्त कुमार तामाड (नुवाकोट) रहेका छन् । राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम वर्तौलाले मनोनित केन्द्रीय सदस्यहरुलाई खाता लगाएर बधाई दिएका थिए ।